हिज्जेको खेल : लेख्ने जति फेल !

हिज्जेका नाममा शुरू भएको अराजकताबाट नेपाली भाषालाई मुक्त गर्न प्रयोगकर्ताहरूले आफैं पहल गर्नुपर्ने भएको छ ।
– शरच्चन्द्र वस्ती

‘शहर’ को श पातलो देख्ता रन्का छुट्छ किशोर नेपाललाई । भर्खरै ‘शहरको कथा’ उपन्यास लिएर आएका उनी भन्छन्, ‘चलिआएको हिज्जे बिगार्नु मूर्खता हो ।’ ‘शहीद’ लाई सहिद बनाइएकोमा चर्को असन्तोष पोखेका थिए डा. तुलसीप्रसाद भट्टराईले एक दशक अघि । अहिले खगेन्द्र संग्रौला त्योभन्दा चर्को रनाहामा छन् । ‘शहीद’ शीर्षकको आफ्नो कथा संकलन/पुनर्मुद्रण गराउन लाग्दा त्यसको हिज्जे बदल्नुपर्ने प्रकाशकीय जिद्दीले उनको निद्रा उडेको छ । भन्छन्, ‘अर्थवाहक शहीद लेख्ने हो कि अर्थशून्य सहिद लेख्ने हो, म बिलखबन्द परेको छु । भाषाका फाँटका स्वेच्छाचारी पुरेतहरूले मलाई भाषाको शिशु कक्षामै राखेर मार्ने भए ।’ ‘शायर’ लाई सायर (कपडाको बार) बनाइएको देख्ता झ्वाँक चल्छ जगदीश घिमिरेलाई । उनको भनाइ छ, ‘शब्दको अर्थै नबुझ्नेहरूलाई के भन्ने ?’ ‘कोशिश’ का जोर श पातलो पारिएको हरि अधिकारीलाई पटक्कै चित्त बुझेको छैन । भन्छन्, ‘हिज्जे नै फेरिदिएपछि शब्दको आत्मा मरिहाल्छ नि †’
विश्व नाटक सम्राट् ‘शेक्सपियर’ लाई सेक्स–पियर (यौन जोडा) बनाइएकोमा पिरोलिएका छन् डा. गोविन्दराज भट्टराई । ‘कस्तो मनपरी ?’ दुई शब्दमै उनी गहन तिक्तता व्यक्त गर्छन् । ‘गरीब’ र ‘नमूना’ लाई ताल न सुरसँग ह्रस्व बनाइएको उदाहरण दिंदै धु्रवहरि अधिकारी भन्छन्, ‘यो अराजकता हो । हिज्जेको अराजकताले भाषालाई डुबाउँछ ।’ ‘शुरू’ को स किन पातलो भयो, बुझ्न नसकेर ‘रिंगटा चलेको’ बताउँछन् मोहन मैनाली । कृष्णमुरारि भण्डारी भन्छन्, “पहिले ‘खुसी’ लेख्ता गल्ती भयो भनेर फेल भइयो । बल्लतल्ल ‘खुशी’ लेख्न थालियो । अब ‘खुशी’ लेख्ता फेरि गल्ती हुनेभयो । कुन साइतमा लेख्न थालिएछ, जिन्दगीमा जहिले पनि फेलका फेल †”

जिन्दगीभर शब्दसँग खेल्ने लेखक, पत्रकार, साहित्यकार भाषाका सारथि हुन् । तिनैले हाँक्छन् भाषालाई र आविष्कार गर्छन् भाषिक सामथ्र्य तथा सम्भावनाका नयाँ क्षितिजहरू । तिनकै प्रयोगलाई हेरेर निर्धारण गरिनुपर्ने हो भाषाको मानक । तर हामीकहाँ तिनीहरू नै निराश, हताश र कुण्ठित छन् । स्वेच्छाचारी तवरले विकृत गरिएका हिज्जेको बिगबिगीका बीच आफूलाई अपमानित एवम् असहाय महसूस गरिरहेका । आफ्नो कृतिमा प्रूफरीडरले हेरफेर गरिदिएको हिज्जे नारायण ढकाललाई बिल्कुलै चित्त बुझ्दैन । तर पार नलाग्ने देखेपछि उनले त्यसको वास्तै गर्न छाडेका छन्, ‘जे जे हुन्छ भइराखोस्’ भनेर । जगदीश शम्शेर राणा यो झमेलामा प्रवेश गर्नै चाहँदैनन् । उनले उपाय निकालेका छन्– किताब लेखिसकेपछि ‘व्याकरण’को जिम्मा अर्कैलाई सुम्पिदिने । तर पत्रकार त्यसरी उम्कन सक्ने कुरै भएन । त्यसैले, घमराज लुइँटेल सुस्केरा हाल्छन्, ‘जिन्दगीभरि नेपाली भाषामै काम गरियो । तर शुद्ध नेपाली लेख्न जानिएन भन्ने घिडघिडो आर्यघाट पुग्दा पनि आफूसँगै रहनेभो †’
छाउपडीलाई केको भान्साघर ?
हुन पनि रिंगटा छुटाउने खालकै छ हिज्जेको भाँडभैलो । बाउबाजेका पालादेखि एक प्रकारले लेखिंदै आएका हजारौं शब्दमध्ये आधाउधि उसैगरी चलिरहेका हुन्छन्, आधाउधि माथि अकस्मात् आक्रमण शुरू हुन्छ । शोषण, षड्यन्त्र र अशिष्टता यथावत् कायम राखिएका हुन्छन्; जोश, होश र खुशी लाई ताछ्न थालिन्छ— मोटो श लाई पातलो पार्नुपर्छ भन्दै । उर्दी जारी हुन्छ— सीता र समीप, पूर्व र मूर्ख लाई नचलाऊ; जीत र टीम, स्कूल र कानून लाई ह्रस्व बनाऊ । शिकार, शेयर, फेशन, शहर, शायर, कोशिश, शुरू, शेक्सपियर सबको स पातलो पार । भीड, ठीक, जीप, सीट, गरीब, करीब, अपील, जमीन, वकील कहीं पनि दीर्घ बाँकी नराख । छूट, बूट, भूल, तूफान, सपूत, कार्टून, नमूना, फूटबल, फूटपाथ सबैलाई ह्रस्व पार ।
यो भद्रगोलबाट रन्थनिन्छ प्रयोगकर्ता र गुरुजी समक्ष पुगेर जिज्ञासाको पेटारो खोल्छ, ‘मैले सानैदेखि संगत गरिआएका शब्दहरूको अनुहार रातारात फेरिएछ गुरुदेव † ती बिराना लाग्न थाले । अब के गर्ने होला ?’
अज्ञानी मनुवालाई गुरुजी ज्ञानको गहन उपदेश दिन्छन्, ‘संसार परिवर्तनशील छ बालक, दु:खी नहोऊ । संस्कृतबाट आएका तत्सम शब्द मात्र जस्ताको तस्तै लेख्ने हो; अरू भाषाबाट आएका शब्दमा श–ष लेख्ने काम छैन, दीर्घ इकार–उकार पनि बाद । पातलो स र ह्रस्व मात्र लेख्ने । बुझ्यौ ?’
‘हाम्रा बाउबाजेले बराबरी आदर दिएका शब्दहरूबीच एकाएक किन यति ठूलो भेदभाव ?’
‘संस्कृतबाट आएका शब्द हाम्रा आफन्त हुन् । अरू भाषाबाट आएका चाहिं पराई । दुवैलाई एउटै व्यवहार गर्न मिल्दैन । बाउबाजेले गरेको गल्ती हामीले सच्याउनु परेन ?’
‘सबैले रुचाएका, कसैलाई अपठयारो नपारेका, कुनै किचलो नउठेका ती शब्दहरूले के अपराध गरे र तिनलाई सजाय दिनुपरेको गुरुदेव ?’
‘भनिहालें नि बालक, तिनको अपराध एउटै हो— ती आगन्तुक अर्थात् बाहिरिया हुन् ।’
‘हाम्रै राष्ट्रिय भाषाबाट आउने शब्द पनि बाहिरिया त ?’
‘राष्ट्रिय भाषाबाट आऊन् चाहे परराष्ट्रिय भाषाबाट; सबै आगन्तुक, सबै बाहिरिया । तिनलाई तिनकै थान्कामा राख्नुपर्छ । छाउपडीलाई केको भान्साघर ?’
‘ल भैगो । तर कुन शब्द संस्कृतबाट आएको भन्ने चाहिं हामीले कसरी थाहा पाउने नि ?’
‘पढ्नुपर्‍यो, अध्ययन गर्नुपर्‍यो’, गुरुजी गमक्क पर्छन्, ‘नबुझ्नेले हामीसँग सोध्न आउनुपर्‍यो । हाम्रो महत्त्व बुझ्नुपर्‍यो ।’
‘खोइ, कसले के बुझेको भन्ने ?’, प्रयोगकर्ता ओठ लेप्रयाउँछ, ‘अफ्रिकाका काला जातिलाई युरोप–अमेरिकावालाले हेपेर ‘निग्रो’ भन्थे । त्यही निग्रो शब्दलाई पनि शब्दकोश बनाउने बडेगुरुज्यूहरूले संस्कृतबाट आएको भनेर लेखेका छन् । त्यो थाहा पाए भने कालो अनुहारमा सेता दाँत चम्काएर उनीहरू कति हाँस्थे होलान् ? …यस्तो भएपछि कोसँग के सोध्न आउने ? जेठा मामाको त भाङ्ग्राको धोती, कान्छा मामाको के गति ?’
‘देववाणी संस्कृतबाट नआएको भए ती म्लेच्छले यो शब्द कहाँबाट ल्याए त ? वाहियात कुरा गर्ने ?’, हप्काउँछन् गुरुजी ।
मौलिकताको गुरुयोजना
हच्किएर हात जोड्दै प्रयोगकर्ता विनीत भावमा जिज्ञासा जारी राख्छ, ‘श–ष र दीर्घ इकार–उकार हटाउनुपर्ने गाँठी कारण यत्ति एउटा हो त ?’
‘कहाँ हुन्थ्यो ? नेपालीमा ती वर्ण र मात्रा उच्चारणै हुँदैनन् भनेर नि †’, दंग पर्दै गुरुजी रहस्य खोल्छन् ।
‘तर हामी त निश्चय, कष्ट र निस्तो भन्दा तीन खालकै स उच्चारण गर्छौं त । तपाईं पनि एकपल्ट उच्चारण गरिहेर्नोस् न, थाहा पाइहाल्नु हुन्छ नि †’
‘तिमीले भन्दैमा मैले किन उच्चारण गर्ने ? भाषाशास्त्री तिमी कि हामी ? तिमीहरू के–के उच्चारण गर्दै हिंड्छौ, हामीलाई के मतलब ? तिमीले उच्चारण गरेकोलाई हामी मान्यता दिंदैनौं । त्यसलाई अक्षर, वर्ण केही पनि मान्दैनौं । लेख्न पनि दिंदैनौं । के गर्न सक्छौ ?’
गुरुजीको चुनौती नसुनेजस्तो गर्छ प्रयोगकर्ता र अर्को प्रश्न गर्छ, ‘दीर्घ इकार–उकार पनि हटाउने भन्नुहुन्छ । त्यसो भए खेती, बारी, जेठी, कान्छी जस्ता शब्दको अन्त्यमा चाहिं दीर्घ किन बाँकी राख्नुभएको नि ?’
‘त्यो त उहिलेदेखि चलिआएको परम्परा । त्यति पनि थाहा छैन ?’
‘श–ष लेख्ने, शुरू र बीचमा दीर्घ इकार–उकार लेख्ने पनि त उहिलेदेखिकै परम्परा होइन र गुरुदेव ?’
‘भए के त ?’, गुरुजी च्याँठ्ठिन्छन्, ‘यो परम्परा नमान्ने, त्यो परम्परा चाहिं मान्ने । कसको के लाग्छ ?’
उनको डाँकोले प्रयोगकर्ता हतप्रभ हुन्छ र रुन्चे स्वरमा भन्छ, ‘एउटै स लेख्न थालेपछि शहर र सहर (माछो) कसरी छुटयाउने होला ? सबै ह्रस्व लेख्ने भएपछि फूल र फुल को फरक के गरी थाहा पाउने होला ?’
‘फरक थाहा नपाएर के फरक पर्छ ?’, गुरुजी हाँस्छन् ‘सयपत्रीलाई ह्रस्व फुल लेख्तैमा त्यसको अमलेट बन्ने होइन क्यारे । हा.हा.हा.†’
‘के भन्नुभएको यस्तो ? गल्तीलाई नै ठीक हो भन्न थालेपछि भाषा भडखालोमा पर्दैन ?’
‘माने न गल्ती, नमाने के गल्ती ?’, गुरुजी मूढ मनुवालाई गूढ तत्त्व सम्झाउँछन्, ‘हेर, नेपाली भाषाको मौलिकता भनेकै पातलो स र ह्रस्व इकार–उकारमा अडिएको छ । त्यही मात्र लेख्न थालेपछि हिज्जेमा एकरूपता आउँछ । शुद्ध–अशुद्धको भेद समाप्त हुन्छ । नेपाली भाषालाई ‘खुला गल्तीमुक्त क्षेत्र’ घोषणा गर्न सकिन्छ । दुनियाँभरि एकनासले चलिरहेका शब्दको हिज्जे फरक पारेर हामी कसैसँग नमिल्ने हुन पुग्छौं । हाम्रै काका–बडाबासँग पनि नमिल्ने बिल्कुलै मौलिक नेपाली भाषाको उदय हुन्छ । अनि हाम्रो मौलिकताबाट विश्व चकित हुन्छ ।…’

हिज्जेका समस्या नेपालीमा कृत्रिम रूपले, जबर्जस्ती लादिएका हुन् । वास्तविक समस्या हिज्जे होइन, हिज्जेका नाममा नकली समस्या खडा गर्ने मठाधीशहरू हुन् । तिनको हस्तक्षेपबाट मुक्त गरिदिनासाथ हाम्रो भाषा उन्मुक्त गतिमा अघि बढ्छ ।

कच्चा वैद्यको मात्रा
सुन्दै मन भरंग पार्ने खालको छ मौलिकताको यो गुरुयोजना । यसैलाई साकार पार्न ‘उच्चारण हुँदैनन्/अर्थभेदक छैनन्’ भन्दै आगन्तुक शब्दबाट विभिन्न वर्ण निमिटयान्न पार्ने आदेश दिइएको हो । अधकल्चा भाषाशास्त्रीहरूको यो झुसिलो डकारले ‘कच्चा वैद्यको मात्रा, यमपुरीको जात्रा’ लाई सम्झाउँछ । दश हजार वर्षभन्दा पुरानो लेख्य परम्परा भएको नेपाली भाषाको हिज्जेका क्षेत्रमा यस्तालाई ‘ढिम्किन पनि दिनुहुँदैन’ भन्छन्, नेपालका जीवितमध्ये सबैभन्दा बूढा, वरिष्ठ र ज्ञानवान् भाषाशास्त्री बालकृष्ण पोखरेल (गरिमा, कात्तिक २०६८) । उनको ऋषिवाणी छ, “भाषाका क्षेत्रमा कथ्यको अलग स्तरीकरण हुन्छ । कथ्यको उच्चारणसँग लेख्यको खासै लिनुदिनु छैन । जस्तै, कसैले नेपालीमा त एउटै ‘स’ छ भन्ला, तर यस्तो कुरा लेख्य नेपालीको अपमान हो । कथ्य नेपालीका कानूनलाई लेख्यमा लाद्ने र लेख्यका कानूनलाई कथ्यमा लाद्ने भूल गरेमा भाषा हामीले जानेका–बुझेका रहेनछौं भन्ने प्रमाणित हुन्छ । जसले भाषा बुझेको छैन त्यसले भाषाका क्षेत्रमा सम्मेलन गर्ने (पनि) अधिकार छैन ।”
पोखरेलका कुरा सोह्रै आना सही हुन् । प्रयोगका क्रममा, लामो समयमा एक्कादुक्का शब्दको हिज्जे अनायास बदलिनु बेग्लै कुरा, नत्र प्रचलनमा रहेको शुद्ध हिज्जे आदेशका भरमा कसैले बदल्न पाउँदैन । एउटा आदेश दिएर हजारौं शब्दको हिज्जे बदल्ने अधिकार त झन् जतिसुकै शक्तिशाली समूहलाई पनि हुँदैन । यस्तो अनधिकार चेष्टाले भाषालाई कमजोर मात्र पार्दैन, तागत पुग्नासाथ एउटाको निर्णय अर्काले उल्टाउने गोलचक्करमा पनि फसाउँछ । भाषालाई डुबाउन योभन्दा बढी के चाहियो ?
तर कसले सुनोस् ज्ञान, प्रज्ञा र विवेकबाट प्रेरित पोखरेलको वाणी ? जस्तालाई उनी हिज्जेको क्षेत्रमा ढिम्किन पनि दिनुहुँदैन भन्छन्, तिनै बसेका छन् विश्वविद्यालय, प्लस–टु र हाईस्कूलको पाठयक्रमीय सत्ता कब्जा गरेर । राज्यसत्ताको प्रयोगद्वारा तिनैले लादिरहेका छन् हिज्जेका नाममा कथ्य नेपालीको कानून लेख्यमा । जसले जीवन दिन सक्तैन उसलाई कसैको जीवन लिने अधिकार पनि हुँदैन भन्ने सभ्य समाजको मान्यता अनुसार हामीले मृत्युदण्डको कानून अस्वीकार गरेका छौं । मान्छेले बरु मान्छे जन्माउन सक्छ तर एउटा पनि वर्ण जन्माउन सक्ने बुता यिनको छैन । तैपनि यिनीहरू हिज्जे बदल्न मात्र होइन, श–ष ई–ऊ लगायत अनेकौं स्वर र व्यञ्जन विरुद्ध मृत्युदण्डकै घोषणा गर्न समेत हिचकिचाएका छैनन् । उच्चार्य वर्णमाला हेर्नोस्— १४ वटा वर्णले सिलटिम्बुर खाइसके । पहिले व्यञ्जन मात्र ३६ वटा हुन्थे, अब त सारा स्वर र व्यञ्जन वर्ण जोड्दा पनि ३६ पुग्दैनन् । कति ठूलो पराक्रम †
उन्मादको बाढी
अनर्थको परम्परा एकपल्ट शुरू भएपछि रोकिन गाह्रो हुन्छ । सर्वनाशमा पुगेर अन्त्य हुनु अघिसम्म ऊ पाइला–पाइलामा भयानक खति गर्दै अघि बढिरहेको हुन्छ । पातलो स र ह्रस्वमुखी यो उन्मादले पनि आफ्नो पूर्वनिर्धारित सीमा तोडिसकेको छ । नेपालीमा स्थापित भइसकेका अनगिन्ती ‘तद्भव’ शब्दमाथि समेत यसको आक्रमण शुरू भइसकेको छ । मीत, शीत, बीस, तीस, चालीस, नीम, तीतो, मीठो, पीर, पीरो, चीसो, कीरो, हीरा, फूल, बूढो, मूढो, धूलो, ठूलो, पूरा, मूला, दूध जस्ता परम्परागत रूपमा दीर्घ लेखिंदै आएका शब्दलाई अब उप्रान्त ह्रस्व लेख्नुपर्ने उर्दी जारी भएको छ । हिजोसम्म दीर्घ नलेख्ता अशुद्ध हुने यी शब्द अब चाहिं दीर्घ लेख्ता अशुद्ध हुने अरे । कसको के लाग्छ ?
तत्सम शब्दमा प्रत्यय लाग्दा त यो उन्मादले अझ अघिदेखि नै खति पुर्‍याउँदै आएको हो । देश, विदेश, दुष्ट, वर्षा, पोष, वर्ष जस्ता शब्दमा कुनै प्रत्यय लाग्नासाथ यसले तिनमा रहेका श–ष माथि हमला गरेर देसी, बिदेसिएको, दुस्टयाइँ, बर्सिनु, पोसिलो, एकबर्से, दुईबर्से बनाइदिन्छ । स्वीकार ठीक तर स्वीकार्नु गलत, पूर्व ठीक तर पूर्वेली गलत : स्विकार्नु र पुर्वेली लेखेपछि मात्र ठीक हुने अरे † प्यान्ट लगाउने बित्तिकै महिलाको लिंगपरिवर्तन गरिहाल्नुपर्छ भनेजस्तो † (झर्रोवादका पाका अभियन्ता बालकृष्ण पोखरेल सन्तानको डीएनए टेस्ट गर्दा पूर्वजसित साइनो जोरिन्छ भन्ने तर्क गर्दै प्रत्यय लाग्दा मूल शब्दको हिज्जे नबिगारी ‘मूख्र्याइँ’ र ‘आशालु’ नै लेख्न थालेका छन् (झर्रो शब्द्यौली : २०६४) । यिनका नाति–चेलाहरूले कुन दिन बूढालाई प्रतिगामी घोषित गर्दै ‘हिज्जेमा फेल’ गरिदिने हुन्, भन्न सकिंदैन ।)
तत्सम पनि संकटमा
उन्मादको यो बाढीले, केही समय यता, संस्कृतबाट जस्ताको तस्तै आएका शब्दलाई समेत डुबाउन थालेको छ । यसका निम्ति ‘मौलिकतावादी’हरूले औपचारिक उर्दी जारी गर्ने कष्ट पनि उठाउनुपरेको छैन— गरुडको छाया परेका सर्प झैं शब्दहरू त्यसैत्यसै लल्याकलुलुक हुन थालेका छन् । पत्रपत्रिकामा हेर्नुहोस् वा नयाँ पुस्तकहरूमा— स्रोता, सुन्य, सिमा, सुचना, सिखर, कुसल, प्रतिसत, अनसन, सिविर, गितकार, पुर्णता, दिक्षा, जिवन, पियुस, पुरक, उन्मुलन, राजदुत जस्ता हिज्जे भाँडिएका शब्द भरमार देख्न पाउनुहुनेछ । पातलो स र ह्रस्व नै नेपाली भाषाको मौलिकता हो भन्ने ‘दिव्योपदेश’ ले दिग्विजय गर्दै गएपछि यो अवस्था आउनु अवश्यम्भावी नै थियो । यो क्रम घट्दो होइन निरन्तर बढ्दो छ । सहजै अनुमान गर्न सकिने कुरा हो— किसोर, जगदिस, प्रकास, पसुपति, संखधर, प्रसान्त, सुर्य, सम्भु, सास्त्र, सरिर, भासा, दर्सन, सब्दकोस, राजनिति आदि लेखेको देख्न–पढ्न पाइने दिन अब धेरै टाढा छैन । ‘तत्सम’ नाम गरेको यो अन्तिम शरणस्थली समेतले जलसमाधि लिएपछि नेपाली भाषाबाट श–ष, ई–ऊ आदि वर्णको पूर्णत: लोप भएर ‘सरलता, एकरूपता, उच्चार्यता एवम् मौलिकतावादी’ हरूको सपनाले मूर्त रूप लिनेछ । त्यतिवेलाका वाक्य यस्ता खालका हुनेछन्— ‘सिसिर स्रेस्ठले प्रग्याँको सब्दकोसमा दर्सनसास्त्र र उसकि माइलि बइनिले भासासास्त्र सब्दको अर्थ खोजे ।’
‘मौलिकतावादी’हरू त यसबाट हर्षित होलान् तर त्यसवेला नेपाली भाषाको हालत के हुन्छ ? यो भाषा नै रहन्छ कि भाषिका बन्न पुग्छ ? विवेकहीन उन्मादमा शब्दहरूलाई अन्धाधुन्द घाइते बनाउँदै भाषाको भविष्यमाथि खेलबाड गर्नु कति उचित हो ? सबै भाषाबाट आएका शब्दलाई वाग्देवीका रूप सम्झेर उत्तिकै श्रद्धा, आदर र सम्मान गर्दै तिनको स्वरूप, आकार र ध्वनिप्रति संवेदनशील भएर मर्यादा र अनुशासन कायम गर्दै अघि बढ्दा भाषाको उन्नति हुन्छ कि शब्दलाई लांछित र अपमानित गर्दै, लछारपछार पार्दै, विकृति र अराजकतालाई उन्मादी पाराले प्रवर्धन गर्दा ? भाषिक परम्परा र त्यसका उपलब्धिलाई जोगाउँदै, नयाँ सम्पत्ति थप्तै, दुनियाँभरि फैलिंदै उँभो लाग्नु वांछनीय हो कि भएको सम्पत्ति र उपलब्धि विसर्जित गर्दै, मौलिकताका नाममा एक्लिंदै, सीमित–संकुचित हुँदै उँधो लाग्नु हाम्रो अभीष्ट हो ? हामी सबैले साँच्चै गम्भीर हुनुपरेको छ किनभने हाम्रो अस्मिता, हाम्रो गौरव, हाम्रो उन्नति–प्रगति र नेपालीका रूपमा हाम्रो पहिचान तथा अस्तित्व नेपाली भाषासँगै गाँसिएको छ ।
खेलाँची होइन हिज्जे
एउटै शब्दको उच्चारण ठाउँ अनुसार फरक हुन सक्छ । ‘जान्छौं’ लाई कतै जान्छम् भनिन्छ त कतै जान्छुम् वा जान्छुङ् । त्यसले मानक हिज्जेलाई केही फरक पर्दैन । भाषालाई बृहत्तर सामाजिक–भौगोलिक परिवेशसँग जोड्ने र स्वीकार्य बनाउने यसको लेखिने रूप र त्यसमा पनि हिज्जेले नै हो । इतिहास, वर्तमान र भविष्यलाई आपसमा जोड्ने महत्त्वपूर्ण कडी पनि यही हो । त्यसैले यो स्थिर र स्थायी प्रकृतिको हुन्छ । परम्परामा आधारित । त्यसैले यसलाई सितिमिती चलाइँदैन । चलाउन हुँदैन ।
हिज्जे शब्दको दृश्य रूप हो जसलाई आँखाद्वारा हेरेर चिनिन्छ र बारम्बार देखिंदै आएको त्यही रूपसँग हाम्रो घनिष्ठता कायम हुन्छ । शब्दले बुझाउने वस्तुको आकारप्रकार र बिम्ब त्यही रूप मार्फत हाम्रो मनमस्तिष्कमा स्थापित हुन्छ । हिज्जेलाई चलाइदिएपछि शब्द बिरानो हुन पुग्छ, घनिष्ठता विगलित हुन्छ, त्यसले बनाएको बिम्ब भत्किन्छ र त्यो शब्द अर्थशून्य प्रतीत हुन थाल्छ । दिमागमा आक्रोशमिश्रित तनाव मडारिन थाल्छ । कुनै दौंतरीको नाक कसैले सफाचट पारिदियो भने तपाईंको मनस्थिति कस्तो होला ?
बुझ्नुपर्ने कुरा के हो भने श–ष, ई–ऊ आदि हाम्रा बहुमूल्य सम्पदा हुन, अवांछित बोझ होइनन् । तिनको विशेष अर्थ, प्रयोजन र महत्त्व छ । बुझेर सदुपयोग गर्न सक्ता अनन्त फाइदा छ । आफूले फाइदा लिन नसके पनि पुर्खाका यी धरोहरलाई आगामी पुस्ताका लागि सुरक्षित गर्नु हाम्रो कर्तव्य हो । संचार–प्रविधि र श्रव्य–दृश्य माध्यमको तीव्र विकासका कारण सिंगो दुनियाँ ‘विश्वग्राम’ बन्दै गएको अवस्थामा अबका दिनमा संसारभरिबाट हाम्रो भाषामा आउने शब्द तत्सम नै हुनेछन् । विश्व–नागरिक बन्न उन्मुख हाम्रा सन्तानले त्यसबेला यी वर्ण र ध्वनिको महत्त्व पनि बुझ्नेछन् र यिनको सदुपयोगद्वारा अरूसामु आफ्नो शिर उच्च पनि राख्न सक्नेछन् । साउँ रहे ब्याज पनि खान सकिन्छ, साउँ नै नाशिएपछि त्यसबाट ब्याज कसरी खाने ?
‘उच्चारण हुँदैनन्’ भनेर वर्ण र मात्रालाई बात लगाउन त सजिलो छ तर हामीले मानक उच्चारण यो हो भनेर सिकाएका छौं नै कहिले ? कुनै पनि स्तरीय भाषामा उच्चारण सिकाइन्छ । भाषालाई सशक्त बनाउने हो भने हामीले पनि मानक उच्चारण सिकाउने परिपाटी प्रारम्भ गर्नैपर्छ । जिब्रो फट्कार्न लगाउनैपर्छ । त्यसैवेला थाहा हुनेछ श–ष र ई–ऊ आदिको दम र आनन्द । असाध्यै गुनिलो देवनागरी लिपिका कारण हाम्रो भाषा उच्चारणका दृष्टिले निकै सजिलो, पारदर्शी र वैज्ञानिक छ । तैपनि हामीकहाँ मौन ध्वनि (सहयोग लेखेर यदाकदा ‘सअयोग’ बोलिने जस्ता) र नलेखिए पनि बोलिने ध्वनि (कन्या लेखेर ‘कन्न्या’ बोलिने जस्ता) समेत छन् । ‘घर गयो’ भन्दा ‘र’ अजन्त उच्चारण गरिन्छ त ‘घरमा छ’ भन्दा हलन्त । बुद्धलाई बुद्द, विद्या लाई बिध्या, नेतृत्वलाई नेतृत्तो, माननीयलाई माननीए उच्चारण गर्नेहरूको संख्या पनि सानो छैन । मानक उच्चारण यो हो भनेर नसिकाए तिनले सही उच्चारण कसरी गर्ने ? र, उच्चारणका कमी–कमजोरीलाई नै विशेषताका रूपमा अथ्र्याएर भाषालाई त्यतैतिर घँचेट्दै जाने हो भने कसरी उँभो लगाउने ?
नक्कली समस्या
वस्तुत: नेपाली भाषामा समस्या छैन । हिज्जेका समस्या यसमा कृत्रिम रूपले, जबर्जस्ती लादिएका हुन् । यसको वास्तविक समस्या हिज्जे होइन, हिज्जेका नाममा नक्कली समस्या खडा गरेर आफ्नो भाउ बढाउन लागिपरेका मठाधीशहरू हुन् । तिनको स्वेच्छाचारी हस्तक्षेपबाट मुक्त गरिदिनासाथ हाम्रो भाषा सहज, स्वाभाविक गतिमा प्रसन्नतासाथ अघि बढ्छ । यसको पहल अब प्रयोगकर्ता स्वयम्ले गर्नुपर्ने भएको छ किनभने भाषाको सम्प्रभुता उनीहरूमै निहित हुन्छ र भाषा बिग्रँदा सबैभन्दा बढी मारमा पर्ने पनि उनीहरू नै हुन् । आफ्नो मातृभाषालाई आफ्नै आँखासामु क्षयीकरण र पतनको खाडलमा जाकिन नदिन पनि यो पहलकदमी अत्यावश्यक भएको छ ।
पहलको प्रारम्भ एउटै कामबाट गर्न सकिन्छ । त्यो हो— हिज्जेमाथिको स्वेच्छाचारी हस्तक्षेप अस्वीकार गर्ने । परम्परादेखि चल्दै आएका, दुनियाँले स्वीकारेका, कुनै विवाद नभएका, शुद्ध शब्दहरूको हिज्जे भताभुंग पार्ने वितण्डाको मतियार नबन्ने । संस्कृत बाहेक अन्य भाषाबाट ‘तत्सम’ रूपमा आएका शब्दहरूलाई पनि विकृत र अशुद्ध नबनाई ससम्मान सही र शुद्ध रूपमै लेख्न थाल्ने । शहर, शहीद, शायर, कोशिश, शेक्सपियर, शुरू, खुशी, शिकार, शेयर जस्ता शब्दको मोटो श कायमै राख्ने । भीड, सीट, गरीब, करीब, अपील, जमीन, वकील जस्ता शब्दको दीर्घ इकार र नमूना, तूफान, कार्टून, छूट, बूट, फूटबल, फूटपाथ, मजदूर, मजबूत जस्ता शब्दको दीर्घ उकारलाई नचलाउने । साथै मीत, शीत, तीतो, पीरो, मीठो, चीसो, बूढो, ठूलो, कीरो, हीरा, पूरा, मूला, फूल, जून जस्ता शब्दको दीर्घ इकार–उकार बिगारेर ह्रस्व बनाउनेतिर नलाग्ने ।
हिज्जेको बहानामा लादिएका कृत्रिम समस्या अरू पनि छन् । तिनको समेत हिसाब–किताब हुने नै छ । तर पहिलो चरणमा यत्ति एउटा काम गर्नु पनि निर्णायक तवरमै महत्त्वपूर्ण हुनेछ । यसबाट, नेपाली भाषालाई पातलो स एवम् ह्रस्वमुखी उन्मादबाट मुक्त गराएर हामीले पर्याप्त शीतलता, सन्चो र फुर्ती मात्र होइन, नवजीवन नै प्रदान गर्नेछौं । सचेत प्रयोगकर्ता देखि लेखक, पत्रकार र साहित्यकार सम्मले आफ्नै मातृभाषा सामु आफूलाई निरीह एवम् असहाय महसूस गर्नुपर्ने जस्तो पीडादायी स्थिति कुनै पनि भाषाका निम्ति अरू केही हुन सक्तैन । यस कदमले यी सबैमा आत्मसम्मान र आत्मविश्वासको पुनर्बहाली गर्नेछ । यसले नेपाली भाषामा नौलो चहक थप्नेछ र यसलाई उन्मुक्त गतिमा अघि बढाउनेछ ।

कान्तिपुर (कोसेली) २०६८/१२/०४ शनिवार

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )